रसुवागढी नाकाबाट १ हजार ५ सय वटा अक्सिजन सिलिन्डरको भित्रिएको छ ।
चीन सरकारले अनुदानमा दिएकामध्ये १५ सय वटा सिलिन्डर आएको हो । गएको ७ गते बेइजिङबाट हिँडेका चिनियाँ गाडी आज नेपाल भित्रिएका हुन् ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चार वटा चिनियाँ गाडीले अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क ल्याएका छन् । ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क आयात भएको कार्यालयले जनाएको छ ।
चीनबाट आएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बुझेका छन् । यी सामग्री आज नै स्वास्थ्य मन्त्रालयमा पठाइने उनले बताए ।