बनेपा नगर क्षेत्रमा गरिएको ‘सिल’ हटाइएको छ ।
लगातार दुई हप्ता गरिएको ‘सिल’ मंगलवारदेखि हटाएको हो । तर निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । नगरक्षेत्रमा संक्रमित संख्या घटिरहे पनि जोखिम कायमै रहेकोले निषेधाज्ञा भने जारी नै राखिएको नगरपालिका स्रोतले जनाएको छ ।
नगरपालिकाले सूचना जारी गरि स्वास्थ्यका मापदण्ड अपनाइ बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने जनाइएको छ । अत्यावश्यक सेवा भने यसअघि पनि सञ्चालन गर्न दिइएको थियो ।
यस्तै बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालयलाई पनि खोल्न दिइएको छ । तर निजी तथा सार्वजनिक सवारी, भिडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, रेस्टुरेन्ट सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ ।
केही दिनदेखि संक्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय संक्रमित छन् । हालसम्म यहाँका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।