काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै निषेधाज्ञाको मोडालिटी परिवर्तन भएको जनाएको हो।
निषेधज्ञाको मोडालिटी परिवर्तन भएसँगै जेठ २१ देखि खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ।
यस्तै उद्योग र निर्माण कार्यलाई सुरक्षित ढंगले काम गर्न दिने निर्णय भएको छ । तर उद्योग आफैंले कामदारको आवासीय व्यवस्था भने मिलाउनुपर्ने छ । ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको सूचनामा उल्लेख छ ।
स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन पनि गर्न पाइने प्रशसानले जनाएको छ ।
जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई भने निरन्तरता दिने भएको छ । यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ। उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो ।