नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य कमला रोकाको पहलमा जिल्ला अस्पताल रुकुम पूर्वलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ ।
नेतृ रोकाको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको ४० लिटर क्षमताका २० थान अक्सिजन सिलिण्डर, १० लिटर क्षमताको १ थान अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर १० थान, डिजिटल थर्मोमिटर १० थान, थर्मल गन १०, एन ९५ मास्क ५० थान, ५ सय थान सर्जिकल मास्क जिल्ला अस्पताल रुकुम पूर्वका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गणेश चौधरीलाई हस्तान्त्रण गरिएको हो ।
यस्तै, ३ कार्टुन स्यानिटाइजर र सर्जिकल मास्क ४० बट्टा प्रा. डा. बुलन्द थापाको सहयोगमा उपलब्ध गराइएको नेतृ रोकाले जानकारी दिइन् ।
जिल्ला अस्पताल रुकुम पूर्वलाई हस्तान्त्रण गरिएका अक्सिजन सिलिण्डरमध्ये सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकालाई ५ वटाका दरले उपलब्ध गराइने रोकाले जनाइन् ।
स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबर्द्धन बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्ल, सुरक्षा निकायका अधिकारी उपस्थित रहेका थिए ।