logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ प्रतिशतले घट्यो, संक्रमणको जोखिम भने उच्च नै


अंकुरण खबर
1.17K
Shares

काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या करिब ४२ प्रतिशतले घटेको छ ।

जेठ १ मा उपत्यकामा सक्रिय संक्रमितको संख्या सबैभन्दा उच्च अर्थात् ४२ हजार दुई सय ४३ पुगेकोमा १९ जेठमा २४ हजार ६ सय ४६ मा झरेको छ । अर्थात उपत्यकामा सक्रिय संक्रमितको संख्या ४१.६५ प्रतिशत घटेको छ ।

जेठमा १९ मा काठमाडौंमा ९ सय ६९ नयाँ संक्रमित थपिदा सक्रिय संक्रमितको संख्या १४ हजार ८७ मा झरेको छ ।

ललितपुर र भक्तपुरमा पनि सक्रिय संक्रमितको संख्यामा थोरै कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । जेठ १ मा ललितपुरमा सक्रिय संक्रमितको संखया ७ हजार १ सय १ थियो भने १९ जेठमा ६ हजार दुई सय ३५ छ । त्यस्तै, भक्तपुर जिल्लामा १ जेठमा ५ हजार रहेको सक्रिय संक्रमितको संख्या १९ जेठमा चार हजार तीन सय २४ छ ।

नयाँ संक्रमितको संख्या घटेको र निको हुनेको संख्या बढेकाले सक्रिय संक्रमितको संख्या घटेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले बताए । संक्रमणको ‘पिक’ ओरालो लाग्दै गएकाले सक्रिय संक्रमितको संख्या घटेको उनले बताए ।

नयाँ संक्रमितको संख्या घट्दै गएपनि संक्रमणदर भने उच्च नै रहेकाले जोखिम कायमै रहेको चिकित्सकले बताएका छन् ।