नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावका विषयमा माधवकुमार नेपाल पक्षले आज छलफल गर्न लागेको छ ।
ओलीले आइतबार साँझ एकताका लागि आह्वान गर्दै प्रस्ताव गरेका थिए । जसमा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने बताएका छन् ।
त्यस विषयमा छलफल गर्न नेपाल पक्षले आज स्थायी समिति बैठक बोलाएको हो । ओलीको प्रस्ताव कसरी लिने भन्ने विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले बताए ।
ओलीको प्रस्तावमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिएको छ । त्यस्तै, सर्वोच्च अदालतमा दिएको रिटमा गरेको हस्ताक्षर पनि फिर्ता लिनुपर्ने ओलीको सर्त छ ।
२०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको थियो । गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एकीकरण बदर भएको थियो । त्यसपछि ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बसालेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए । त्यस्तै, माओवादीबाट आएका २७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
नेपाल पक्षले त्यसको विरोध गर्दै आएको छ । जेठ ३ गते पूर्वको अवस्थामा फर्किनु पर्ने नेपाल पक्षले माग गर्दै आएको छ ।