फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गत जोर्डनले नेपाललाई हराएको छ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले हराएको हो । जोर्डनलाई जित दिलाउन बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गरी दुई गोल गरे । त्यस्तै तेस्रो गोल भने यजान अल अरबले गरे । जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएर जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ ।
सुरुदेखिनै कमजोर खेलेको नेपाललाई जोर्डनले दबाबमा राखेको थियो । नेपाल ७ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग शुक्रबार खेल्नेछ ।