चीनले अनुदान स्वरुप दिएको खोप आजदेखि ज्येष्ठ नागरिकहरुलाई लगाइदै छ ।
सरकारले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्षकालाई र उपत्यका बाहिरका ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई आजबाट भेरोसेल खोप लगाउन सुरु गर्न लागेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ ।
खोप उपलब्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको छ । हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ । तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ ।
खोप लगाउन यस्ता चीज आवश्यक
काठमाडौँ महानगरपालिकाले भने खोप लगाउने व्यस्था राम्रो व्यबस्थित बनाउँन खोप लगाउने स्थान निश्चित तोकेको छ । त्यसका लागि उसले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ ।
जसअनुसार जेठ २५ देखि २९ गतेको समयसीमा तोकेको छ । २५ गते ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने छ । त्यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।
महानगरका ३२ वटै वडा खोप लगाउन पाइने छ । त्यसको लागि उमेर खुलेको फोटोसहितको सरकारी कागजात र सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र ल्याउनु पर्ने छ ।