सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन् । मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद मात्र छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल एमालेका २५ सांसद छन् ।
एमाले संसदीय दलमा खनाल–नेपाल पक्षको बहुमत छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ मध्ये ७ सांसद खुलेर लागेका छन् ।
ओली पक्षको प्रदेश कमिटीले भने विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको थियो । तर प्रदेश कमिटीको निर्देशनलाई उपेक्षा गर्दै संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।