logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीले जेठ २७ गते विश्वासको मत लिने


अंकुरण खबर
728
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

२७ गते विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन्।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते मुख्यमन्त्री गुरुङमा नियुक्त भएका थिए । अल्पमतको सरकाका मुख्यमन्त्री बनेकाले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग २७ सांसद छन् भने स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन पनि एमालेलाई छ । मुख्यमन्त्रीले विश्वासको मत लिन थप ३ मत आफ्नो पक्षमा पार्नुपर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । यीमध्ये राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ नदिने घोषणा गरिसकेका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भए पनि सर्वोच्च अदालतले पदमुक्तको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेपछि उनको पद थमौती भएको छ ।

जेठ २७ गते मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा पदमुक्त भई संविधानको धारा १६८ (५) बमोजिम सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने छ । यसमा प्रदेश सभाका कुनै एक सदस्यले बहमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत पेश गर्ने आधार प्रस्तुत गर्न नसकेमा प्रदेशसभा विघटनसम्म हुन सक्छ ।