जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका छन् ।
जेठ १८ गते अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र आयोगमा दिँदा केन्द्रीय कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर नबुझाए पछि आयोगले हस्ताक्षर मागेका कारण उनले हस्ताक्षर बुझाउनका लागि एक साता समय थप गर्न माग गरेका हुन् ।
जेठ १८ गते नै अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहितका नेतालाई निष्कासनको निर्णय गर्दा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित बुझाएका थिए । तर ठाकुरले बहुमत सदस्यको हस्ताक्षर बुझाएका थिएनन् ।
गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । त्यसै दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।
गत जेठ १९ गते निर्वाचन आयोगले दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले अध्यक्ष ठाकुरसँग भने केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।
केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाएका अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न मात्र भनिएको थियो । उपेन्द्र यादवले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुरबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।