logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खुकुलो बनाईंदै निषेधाज्ञा : असारदेखि ‘लुज डाउन’ मोडालिटी


अंकुरण खबर
624
Shares

सरकारले असार १ देखि निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि बढाएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि निषेधाज्ञालाई लूजडाउन गर्ने योजनामा सरकारको रहेको छ ।
गृह मन्त्रालयका अनुसार देशभर जारी निषेधाज्ञाको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेको छ । त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए । त्यसका लागि जिल्लाबाट रिपोर्टिङ लिने क्रम जारी रहेको उनले बताए ।

उनका अनुसार मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा असारदेखि ‘लुज डाउन’ लागू गर्ने योजना मन्त्रालयको छ । लूजडाउनले केही सहजीकरण हुने दाहालले बताए । संक्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको उनले बताए । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।

कोरोनाको पहिलो लहरमा जारी गरिएको लकडाउन एक्कासी खोल्दा संक्रमणले गति लिएको विगतको उदाहरण भएकोले यसपाली भने त्यो गल्ती नदोहोरिने गृह प्रवक्ता दाहालले स्पष्ट पारे । लूजडाउन अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।

मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्ने दाहालको भनाइ छ । वर्षाको समय भएकोले मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने उनले बताए । तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ ।

पछिल्लो समयमा संक्रमण घटेकाले केही खुकुलो हुने आशा आमनागरिकले लिएका छन् । मन्त्रालयको बुझाइमा पनि निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको छ । त्यसैले एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय रहेको छ ।