त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षको परीक्षा साउनको दोस्रो साता हुने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको हो । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिए । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको उनले बताए । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उनले जानकारी दिए ।
आगामी साउनमा भौतिक रूपमा हुने परीक्षा छुटाएमा विद्यार्थीको पुनः परीक्षा नलिइने जोशीको भनाइ छ । भौतिक रूपमा परीक्षा हुन नसक्ने अवस्था आएमा अनलाइनमा जति सहभागी हुन सक्छन्, उनीहरूको मात्रै भए पनि परीक्षा हुने उनले बताए। अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्ने जोशीले प्रष्ट पारे। त्रिविमा वार्षिक प्रणालीका पनिका बल्खुले लिँदै आएको छ ।
त्रिविले कोभिड संक्रमणको समयमा सहज गराउने उद्देश्यले अनलाइन फारम खुलाएको छ। तर ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फारम भर्न नसकेको क्याम्पस प्रमुखहरूले नियन्त्रक जोशीलाई रिपोर्टिङ गरेका छन् । अनलाइन फारम भर्न कठिन भएका विद्यार्थीले नजिकैको क्याम्पसबाट फारम भरेर बुझाएका छन् । ३१ जेठसम्म फारम भर्न समय दिइएको छ ।