सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयको फाइल ७ दिनभित्र अदालतमा पेस गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक ईजलासले बुधबार राष्ट्रपतिक कार्यालयका नाममा यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, प्रधानमन्त्रीको सिफारिस समेत पेस गर्न आदेश जारी गरेको छ।
‘प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८/०२र०७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गर्नु भएको सिफारिस, तदनुसार राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल कागजातर सम्बन्धि कार्यालयहरूबाट आजका मितिले ७ दिनभित्र अनिवार्य रूपमा झिकाइ मिसिल सामेल राख्नू,’ इजलासले जारी गरेको आदेशमा भनिएको छ।
सर्वोच्चले उक्त म्यादमा कुनै पनि थप नहुने समेत प्रष्ट पारेको छ। प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा निरन्तर छलफल भइरहेको छ।