logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा सत्तापक्ष र विपक्षी दुवैलाई बहुमत जुटाउन मुस्किल


अंकुरण खबर
715
Shares

गण्डकी प्रदेशको प्रदेशसभा बैठक जारी छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। तर उनी अल्पमतमा देखिन्छन्।

गण्डकी प्रदेश सभा ६० सदस्यीय रहेको छ। बहुमतका लागि ३१ सांसद चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरुङ आबद्ध पार्टी एमालेका २७ मात्रै सांसद छन्।

यो प्रदेशमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक मात्रै सांसद छन्। उनी पनि २७ जना भित्र्र पर्छन्। उनले मुख्यमन्त्री गुरूङलाई नै सहयोग गर्ने वचन दिएको बुझिएको छ।

एमालेबाहेक नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जनमोर्चा तीन, जसपाका दुई र स्वतन्त्र एक सांसद छन्।सभामुखले मत दिन नपाउने व्यवस्था छ। विपक्षी गठबन्धनमा ३१ मत भए पनि जनमोर्चाबाट के हुने भन्ने निश्चित छैन।

विपक्षी गठबन्धन मुख्यमन्त्रीबाट गुरूङलाई हटाउन चाहन्छ तर सो पक्षलाई पनि बहुमत सिद्ध गर्न गाह्रो देखिन्छ। गठबन्धनले हिजो (बुधबार) नै मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई निर्देशन दिइसेको अवस्था छ तर राष्ट्रिय जनमोर्चाका तीन सांसद एकमतको अवस्थामा नहुँदा सो पक्षलाई पनि बहुमत जुट्ने ग्यारेन्टी छैन।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा अगाडि साीरएको छ। त्यसमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाको पनि समर्थन रहेको छ।

यसअघि संघीय राजनीतिमा हलचलको असर प्रदेशमा पनि देखिन थाल्दा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए। त्यसपछि विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई माओवादी केन्द्र, जनमोर्चा, जसपाको संसदीय दलका नेताको समर्थनसहित मुख्यमन्त्रीमा अघि सारिएको थियो।

पछि विश्वासको मत लिने बेलामा जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले छुट्टछुट्टै निकालेर तटस्थ रहेको उल्लेख गरेपछि प्रदेश प्रमुख पौडेलले संवैधानिक व्यवस्थाअनुसार ठूलो दलको नेताको हैसियतमा गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

आजको बैठकमा सत्ता पक्ष र विपक्षी दुवैले बहुमत सिद्ध गर्न सकेनन् भने गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा धकेलिन सम्भावना देखिन्छ।