काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ ।
यसअघिको निषेधाज्ञा यही जेठ ३१ गते सकिँदैछ । संक्रमणदरमा केही कमि आएपनि कोरोना पूर्णरुपमा नियन्त्रण नहुँदासम्म निषेधाज्ञा तत्काल खुला भने हुने छैन् ।
हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्ने जति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ,’ प्रजिअ पराजुलीले भने ।
निषेधाज्ञा केही खुकुलो भने हुनसक्ने उनले बताए । बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ।
यस्तै, सवारीसाधन सञ्चालन गर्ने विषयमा मन्त्रालयले अहिलेसम्म केही नसोचेको बताएको छ । सवारीसाधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उनले प्रष्ट पारे।