डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप ००१००१ च २६१५ नम्बरको महेन्द्रा बोलेरो आज बिहान करिब ४.४५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका ५० वर्षीय चालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएकी छन्।
घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन्।
बोलेरो अनियन्त्रित भई सडकबाट कम्तीमा एक मिटर तल खसेको प्रहरीले जनाएको छ।