logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गरिब देशलाई ५० करोड खोप दिने अमेरिकी राष्ट्रपतिको घोषणा


अंकुरण खबर
1.17K
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक वर्षभित्र संसारका गरिब देशलाई कोभिड–१९ विरुद्धको ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति बाइडेनले संसारभरका निम्न तथा मध्यम आय भएका ९२ मुलुकलाई ‘फाइजर’ खोप सहयोग गर्ने घोषणा गरेका हुन्। जसमा संसारभरका निम्न तथा मध्यम आय भएका देशसँगै अफ्रिकन युनियनका सदस्य देशहरूले खोप पाउनेछन्।

जसमध्ये २० करोड खोप सन् २०२१ को अन्त्यसम्म सहयोग गरिसक्ने जनाएका छन्। बाँकी खोप सन् २०२२ को जुन महिनासम्म सहयोग गरिने भएको छ।

कोभिड–१९ महामारीसँगै सबैले मिलेर जुध्नुपर्ने राष्ट्रपति बाइडेनले बताएका छन्। उनले यो घोषणाको प्रमुख उद्देश्य जीवन रक्षा भएको जनाएका छन्।

राष्ट्रपति बाइडेनले संसारका सबै लोकतान्त्रिक देशहरूलाई पनि सुरक्षित र प्रभावकारी खोप आपूर्तिमा आफ्नो भूमिका निभाउन आग्रह गरेका छन्।

यसअघि राष्ट्रपति बाइडेनले नेपाललगायत एसियाका देशलाई ७० लाख खोप सहयोग गर्ने घोषणा गरेका थिए। जसमा नेपालसँगै भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफ्गानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लावस, पपुवा न्युगिनी, ताइवान लगायत छन्। एजेन्सी