डेढ महिनादेखि जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरु आर्थिक समस्यामा परेका छन् ।
मनोरञ्जन क्षेत्र (होटेल,रेष्टुरेन्ट,क्लब,दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा कारोनाको दोस्रो भेरियन्टका कारण जारी निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खान, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको बताइएको हो । संस्थाका अनुसार यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन्
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तिमा पाँचजनाको परिवार चलेको हुन्छ, करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकहरुले आत्महत्या गरेको जानकारी दिए ।
गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका दुईसय ९९ जनाले आत्महत्या गरेका थिए ।विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजना अन्तरगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुको साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ ।
विश्वास नेपालले शुक्रबार आयोजित भर्चुअल कार्यक्रममा परियोजना संयोजक बिवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए ।