logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुन देशभर फैलदै : यो साता बाढी पहिरोको उच्च जोखिम


अंकुरण खबर
650
Shares

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ ।

त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ ।

विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ मौसम र टोल फ्रि नं ११५५ बाढी मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्पे्रषण गर्ने गरेको छ ।