काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा कसको हो भन्ने अझै खुल्न सकेको छैन ।
काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा भेटिएको शवको खुट्टाको पहिचान गर्न समस्या परेको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए । उनले भने, शव पहिचान हुन नसक्दा अनुसन्धानमा समस्या भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालले शवको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । डीएनए परीक्षणबाट महिला, पुरुष र उमेर खुल्ने चिकित्सकहरु बताउँछन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले प्राविधिक विश्लेषण पनि गरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन ।
प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानबाट चारजना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ । घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ । तर, शव फाल्नेहरूको पनि पहिचान हुन सकेको छैन ।
महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले हराएका व्यक्तिमा केन्द्रित रहेर अनुसन्धान गरिरहेको बताए ।