लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।
सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।
यसअघि सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको जनाए । उठेका प्रश्नहरूको जवाफ सकिएपछि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेका थिए ।
उनले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताए । मुख्यमन्त्री पोखरेलले भने, “दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रुपमा सरकारसँग बहुमत छ ।”
उनले नेकपा (एमाले)सँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाउनुभयो । कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट गरे ।