नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लिल तस्वीर पठाउने र तस्वीर भिडिओ बिगारेर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।
प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ डल्लु बस्ने वर्ष २६ का सानु पोडे र बाग्लुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो।
पोडेले पीडितको मेसेन्जरमा पटक-पटक अश्लिल भिडिओ पठाउने गरेका थिए। साथै, उनले पीडित बालिकाको अनुहार अपरिचित महिलाको नग्न शरीरसँग जोडेर हैरानी दिएका थिए। त्यसरी हैरानी दिएको भन्ने ब्युरोमा उजुरी परेपछि प्रहरीले पोडेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको एसएसपी अर्यालले बताए।
त्यसैगरी, रामेन्द्र खड्काले फेसबुक, टिकटक, युट्युबलगायतमा व्यक्तिहरूको तस्वीर तथा भिडिओको दुरूपयोग गरेका थिए। सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, घृणा वा द्वेष फैलाउने, चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशन प्रसारण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा उनलाई पक्राउ गरेको हो।
प्रहरीले जिल्ला अदालतबाट सातरसात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो। ब्यूरोले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।