काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञामा आज (मंगलवार) देखि केही खुकुलो भएसँगै उपत्यकामा चहलपहल शुरु भएको छ ।
निषेधाज्ञा खुकुलो पारिएपछि मोटरसाइकललगायत चारपांग्रे निजी सवारी साधानहरु चल्न शुरु गरेका छन् जसबाट मुख्य चोकहरुमा ट्राफिक जामसमेत देखिएको छ ।
बिहान ९ देखि ११ बजेसम्मको उपत्यकाका मुख्य सडकमा सवारीको संख्यामा उल्लेख्य वृद्धि भएर ट्राफिक जाम देखिएको हो । आजदेखि खुकुलो पारिएको निषेधाज्ञाको समयमा पनि मास्क लगाएर हिँडडुल गर्न पाइने भएपछि सडकमा सर्वसाधारणको पनि उल्लेख्य चहलपहल देखिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ असारसम्म निषेधाज्ञा थप्ने निर्णय गरेपछि आजबाट थपिएको निषेधाज्ञा खुकुलो बनेको हो ।
आजबाट केही कामकाज गर्न पाइनेछ । तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, ग्यास, खानेपानी, किराना पसल तथा डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र) खोल्न पाइनेछ। यसका लागि बिहान ११ बजेसम्म समय तोकिएको छ। यसअघि ९ बजेसम्म मात्रै खोल्न दिइएको थियो।
त्यस्तै, पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुल्नेछन्। विकास निर्माण सामग्रीका पसलहरू अपराह्न ४ बजेपछि खोल्न पाइनेछ। ठूलो परिमाणको ढुवानी भने राति मात्रै गर्न पर्नेछ।
आजबाट अत्यावश्यक सामानको होम डेलिभरी सेवा सञ्चालन हुनेछ। यसका लागि बिहानबाट साँझ ७ बजेसम्मको समय तोकिएको छ। साथै, अब सातामा दुई दिन सहकारी संस्था र रेमिट पनि खुल्नेछन्। यसका लागि आइतबार र बिहीबार तोकिएको छ।