समाचार

थप मुलुकका लागि हवाई उडान खुलाउन र उडान थप्न सिफारिस

सरकारले थप केही मुलुकका लागि हवाई सेवा खुला गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा साउदी अरब, यूएई, मलेसियामा उडान खुला गर्न लागिएको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले साउदी अरब, यूएई, मलेसियामा रहेका नेपाली कामदार ल्याउनको लागि पनि उडान खुला गर्नुपर्ने भएकाले सोहीअनुसार सिफारिस गरिएको बताए । “हाल उडान गरिरहेका मुलुकका लागि दुई/दुई उडान र साउदी, यूएई, मलेसियामा उडान खुला गर्न प्रस्ताव भएको हो,” उनले भने ।

मन्त्रालयले हाल उडान खुला भइरहेका मुलुकका लागि उडान संख्या थप्न र अन्य मुलुकमा उडान खुला गर्न प्रस्ताव गरिएको हो । यस विषयमा औपचारिक निर्णय नभए पनि उच्चस्तरमा सहमति भएको जानकारी आएको लामिछानेले बताए ।

मन्त्रालयले हाल सातामा एकरएक उडान खुला गरिएका कतार, टर्की र चीनका लागि एक/एक उडान थप गर्न प्रस्ताव गरेको छ ।

Comment here