नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्न लागेको छ।
आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार १४औं महाधिवेशनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
यसअघि कांग्रेस पदाधिकारी बैठकले १४औं महाधिवेशन केही दिन पछाडि सार्ने प्रस्ताव गरेको थियो। बैठकमा भदौ १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो। यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने तय भएको थियो।
पदाधिकारी बैठकले गरेको प्रस्तावका विषयमा केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय हुने जनाएको छ। यससँगै महाधिवेशन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुने उनले बताए।
कोरोना भाइरसको महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ भएको छ। जसले गर्दा पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गरिने जनाएको छ।
कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको थियो। अहिलेसम्म आठ लाख क्रियाशील सदस्य बनेका छन्।
अब क्रियाशील सदस्यबाट वडा कार्यसमिति चयन हुनेछ। उनीहरू क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन्। त्यस्तै, महाविधेशन प्रतिनिधि चयन गर्नेछन्। उनीहरू नै १४औं महाविधेशनमा मतदाता हुनेछन्।
महाधिवेशनसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने जनाएको छ।