सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परि बेपत्ता भएका थप एक जनाको शव भेटीएको छ ।
गए राती बेपत्ता मध्य एकजनाको शव भेटीएको हो । बेपत्ता भएका अन्य चार जना सम्पर्कमा आएको र अन्य १५ जनाको खोजी कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।
मंगलबार रातिदेखि आएको भीषण वर्षापछिको बाढीमा परि २० जना बेपत्ता भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ ।
उक्त घटनामा यसअघि दुई जनाको शव भेटिइसकिएको र दुईमध्ये एक चिनिया र एक नेपाली नागरिक रहेको बताईएको छ । नेपाली नागरिकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दुई वटा हेलिकोप्टरको सहयोगमा उद्धार कार्य चलिरहेको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह केही कम भए पनि घटनास्थलमा हल्का पानी परिरहेकोले उद्धारमा कठिनाई आएको सहायक प्रजिअ खनालले जानकारी दिएका छन् ।
घटनाबाट भएको क्षतिको विवरण, उद्धारमा आएको कठिनाई र राहतबारे छलफल गरी आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको नेतृत्वमा जिल्लाका सुरक्षा संयन्त्रका अधिकारीको बैठक पनि आज बस्दै गरेको बताइएको छ ।