logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपमेयरसहित कांग्रेस जनप्रतिनिधिद्वारा काठमाडौं महानगरको परिषद् बहिष्कार


अंकुरण खबर
663
Shares

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरपरिषद् बहिष्कार गरेको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमयेरसहितका जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको नगरपरिषद् आज ११ बजे राष्ट्रियसभामा बोलाइएको थियो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कार्यपालिका बोर्डबाट पारित नै नभएको नीति तथा कार्यक्रम परिषद्मा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

‘नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको छ । महानगरवासीलाई निस्शुल्क खोप दिने , कर घटाउने लगायतका हाम्रो प्रस्तावलाई बाइपास गरिएकोले नगरपरिषद् बहिष्कार गरेका हौं’, उपप्रमुख खड्गीले भनिन् ।

नगरपरिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडा अध्यक्षहरु समेत रहेका छन् । नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ ।

कांग्रेसका जनप्रतिनिधिहरूले महानगरवासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्धको खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने , वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाईमा क्रियाशील बनाउनुपर्ने , करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।