logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभामा विश्वास प्रस्ताव पेश


अंकुरण खबर
1.859K
Shares

गण्डकी प्रदेशसभाको बैठक सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।

कांग्रेस संसदीय दलका नेता पोखरेल आफ्नो पार्टी, माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसरण गर्दै उनले विश्वासको मत प्रस्ताव पेश गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा जनमोर्चा सांसद कृष्ण थापा पदमुक्त भएकाले ५९ सदस्य मात्र कायम छन् । त्यसमा पनि सभामुखको संख्या घटाएर ५८ सांसदबाट विश्वासको मतबारे निर्णय हुनेछ ।

विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री पोखरेललाई ३० सांसद भए पुग्छ । गण्डकी प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, जनमोर्चाका दुई र स्वतन्त्र एक गरी ३१ सांसद मुख्यमन्त्री पोखरेलको पक्षमा छन् । यस्तै, विपक्षमा रहेको एमालेसँग २७ सांसद छन् ।