सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आइतबार मृत्यु भएको हो ।
ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको छ भने उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन्। घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेको अवस्थामा माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको स्थानीयवासी मिठु माझीले बताए ।
करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइ माझीका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको बताईएको छ ।