दलित थरकै कारण कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँकी रुपा सुनारले घरबेटीविरुद्ध गरेको उजुरीपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी प्रधान थरकी घरबेटीलाई आइतबार पक्राउ गरेको हो।
घरबेटीविरुद्धको उजुरीपछि शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
रुपाले थरकै कारण घरभाडामा नदिने घरबेटीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसूर र सजाय ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी छन्।
रुपाका अनुसार प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन्। दलित समुदायको भन्ने थाहा पाएपछि भाडा दिन इन्कार गरेको रुपाले दर्ता गराएको जाहेरीमा उल्लेख छ।