आज देशभरको मौसम बदली हुने तथा प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ । मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभरको मौसम बदली रहेको छ ।
आज दिउँसो देशभर मौसम बदली रही देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा साथै प्रदेश १ का एक–दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ ।
यस्तै, आज राति पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।