logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट पुष्टि, सबै उमेर समूहलाई खतरा (विज्ञप्तिसहित)


अंकुरण खबर
663
Shares

नेपालमा कोभिड-१९ को थप नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

वैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा रहेको आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

ती नमुनाको जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२० पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७० पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएको र यसलाई एवाई.१ नाम दिइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अहिलेसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसहित नेपालमा अहिलेसम्म भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘यी भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । त्यसैले सङ्क्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्नरगराउन भूमिका बढाउन सबैको जानकारीका लागि अपिल गर्दछौँ’, मन्त्रालयले भनेको छ ।