logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गरिब देशमा कोरोनाविरुद्धको खोप चरम अभाव हुँदा थप जोखिम : डब्ल्यूएचओ


अंकुरण खबर
676
Shares

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ ।

धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाको थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो ।

डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताएको बीबीसीले जनाएको छ ।

धनी देशहरुले गरिब देशलाई दिने कोभ्याक्स सुविधाको खोप जतिसक्दो छिटो उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

कोभ्याक्स सुविधाको दुई अर्ब डोज खोप सन् २०२१ अर्थात यसै वर्षसम्म उपलब्ध गराउने लक्ष्य रहेको छ । यस्तै दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामफोसाले धनी देशहरुसँग खोप सहयोगको आग्रह गर्दै खोप उत्पादन केन्द्र बढाउन सुझाव दिएका छन् ।

अफ्रिकी महाद्वीपमा अहिलेसम्म जनसङ्ख्याको दुई प्रतिशत अर्थात ४ करोड नागरिकलाई मात्रै खोप दिइएको भन्दै राष्ट्रपति रामफोसाले अर्को लहरको जोखिम रहेको बताएका छन् ।