सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न माग गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले सोमबार कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन्। पहिलो डोज खोप लगाएको आज १०५ दिन अर्थात् १५ हप्ता पुगिसक्दासमेत नपाएको उनीहरुको रिटमा भनिएको थियो। आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ।
सरकारले फागुन २३ देखि पहिलो डोज कोभिसिल्ड खोप लगाएका ९६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलब्ध हुन नसकेको रिटमा भनिएको छ।
सर्वोच्चले जेठ ४ गते पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो डोज लगाउने व्यवस्था गर्नु भनि जारी भएको आदेशको समेत पालना नभएको रिटमा उल्लेख छ। ‘वृद्ध-वृद्धाहरु कोभिडको जोखिममा धेरै रहेकाले यो आदेशको कार्यान्वयन हामी जस्ता वृद्धको हकमा लागू भएको छैन तसर्थ पनि हामी मर्कामा र चिन्तामा छौँ,’ रिटमा भनिएको छ ।