महोत्तरीमा स्रोत नखुलेको ४० लाखसहित एक युवक पक्राउ परेका छन् ।
मटिहानी-जनकपुर सडकखण्डअन्तर्गत आज (मंगलवार) दिउँसो स्रोत नखुलेको करिब ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका-१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका-९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० बरामद भएको हो ।
पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताए ।