logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि थुनियो मर्स्याङ्दी नदी, चामेबजार जोखिममा


अंकुरण खबर
3.367K
Shares

मनाङको चामे गाउँपालिका ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको छ ।

चामेमा मर्स्याङ्दी नदी फेरि थुनिए पछि पुल र बजार थप जोखिममा परेको हो ।

गएको शनिवार पनि चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा, माटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो । सशस्त्र प्रहरी बल नं ३२ गुल्म र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको थियो ।

थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको र नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिममा परेको छ ।

मङ्गलवार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढे संगै ठुलाठुला रुखहरु पुलमा अड्किएर नदी थुनीएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रुख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेको भनाइ छ । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए ।

लगातारको वर्षाले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको छ । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन प्रसाशनले सुचना गरी सकेको छ ।