नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।
१४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्।
पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार बिहीबार दिउँसो २ बजेका लागि भेला डाकिएको छ। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेको छ।
केन्द्रीय समितिको बैठकलगत्तै कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ। सभापति शेरबहादुर देउवाले महाधिवेशन लक्षित गतिविधि थालिसकेका छन्। उपभापति विमलेन्द्र निधिले समेत महाधिवेशनको तयारी थालेका छन्। सभापति पदमा दाबी गर्दै निधिले आफू निकट र अन्य समूहका नेताहरुसँग छलफल गरिसकेका छन्।
पौडेल समूहमा सभापतिका धेरै आकांक्षी छन्। १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका पौडेल आफैं सभापतिका आकांक्षी हुन्। यस्तै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसी, शेखर कोइराला लगायत पनि सभापतिका आकांक्षी हुन्। धेरै आकांक्षी देखिएको अवस्थामा पौडेलले केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेका हुन्।