logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उद्योग-यवसायीको माग


अंकुरण खबर
1.17K
Shares

उद्योग-यवसायीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

कोरोना भाइरसको दोस्रो लहर केही मत्थर भएपछि तेस्रो लहर आउन सक्ने भन्दै व्यवसायीले त्यसबाट जोगिन खोपको माग गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कोरोनाबाट जोगिने एकमात्रै विकल्प खोप रहेको भन्दै सरकारले उपलब्ध गराउनु पर्ने बताइन्। ‘व्यवसायीदेखि सबै आम सर्वसाधारणका लागि एक मात्रै विकल्प खोप बनिसकेको छ’ राणाले भनिन्, ‘सरकारले खोप आपूर्ति गरी सबैलाई लगाउने वातावरण बनाउनु पर्छ।’ सरकारले आफैं आपूर्ति गर्न नसक्ने भए निजी क्षेत्रका लागि आयात गर्न पाउने वातावरण मिलाइदिन राणाले आग्रह गरिन्।

‘निश्चित मापदण्ड बनाएर तोकेरै निजी क्षेत्रलाई पनि ल्याउने वातावरण सरकारले बनाउनु पर्छ’ राणाले भनिन्। त्यस्तै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सरकारले व्यवसायीलाई मात्रै नभएर आमसर्वसाधारणलाई खोपको व्यवस्था गर्नुपर्ने बताए। ‘पेट्रोलियम व्यवसायी फ्रन्ट लाइनर हुन् सबै क्षेत्रका मानिसको टचमा हुनुपर्छ’ उनले भने, ‘सकेसम्म सबै क्षेत्रका लागि सरकारले यथाशीघ्र खोपको व्यवस्था गुर्नपर्छ।’
पेट्रोलियम व्यवसायीले खोपको व्यवस्था नभएमा पेट्रोलियम पदार्थको बिक्री वितरण ठप्प पार्ने चेतावनी दिएका छन्।

यसअघि पेट्रोलियम ढुवानी व्यवसायीले काठमाडौं उपत्यकामा ढुवानी ठप्प पारेपछि खोप लगाउन पाएपछि वितरकले पनि वितरण ठप्प पार्ने चेतावनी दिएका हुन्। ‘एसोसिएसनमा त्यस्तो ठप्प पार्ने निर्णय भएको छैन’ प्रधानले भने, ‘जिल्लाका साथीहरुले ठप्प पार्ने पनि भनिरहेका छन्।’

कोरोनाको दोस्रो लहरबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेपछि खोप लगाउनुपर्ने माग जताततै उठिरहेको छ। यसअघि बैंकर्स एसोसिएसन, प्राध्यापक संघलगायतले कोरोनाको खोप उपलब्ध गराउन माग गरिसकेका थिए। शिक्षक संगठनलगायतले खोपको सुनिश्चितता गर्न माग गर्दै आएका छन्।

नेपाल सरकारले दोस्रो लहर मत्थर भएको मौकामा बढीभन्दा बढी संख्यामा खोप पुर्‍याउनुपर्ने सरोकारवालाले बताउँदै आएका छन्। यसअघि सरकारले विभिन्न अनुदान तथा खरिद गरेर ल्याएका खोपबाट करिब २५ लाखमा पहिलो डोज खोप पुर्‍याउन सकेको छ। त्यस्तै करिब ७ लाखमा दोस्रो डोज खोप पुगेको सरकारी तथ्यांक छ।