देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाको भनाइ छ। हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
शुक्रवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
यस्तै, आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र लुम्बीनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।