logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनस्वास्थ्यका मापदण्ड पालना गर्दै १७ गतेबाट उडानको तयारीमा जुटे एयरलाइन्स, भाडा बढ्ने संभावना


अंकुरण खबर
962
Shares

कोभिड -१९ को महामारी केही कम हुन थालेपछि जनस्वास्थ्यको मापदण्ड लागु गर्दै यही १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालनमा आउँने भएका छन् ।

आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायतका एयरलाइन्सले स्वास्थयका मापदण्ड पालना गर्दै उडानको तयारीमा जुटेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी हाललाई उडान संख्याको ५० प्रतिशत सञ्चालनमा ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिए पश्चात तयारी थालिएको हो ।

अर्को निर्णय नहुञ्जेललाई क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ । जस अनुसार बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।

यस्तै यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ ।

त्यस्तै श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।

सरकारले कोरोना भाइरसको दोस्रो भेरियण्ट बढेसंगै गत २० वैशाखदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । केही एयरलाइन्सहरुले उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि सुरु गरिसकेका छन् ।

अघिल्लो वर्ष हवाई भाडामा छुट दिए पनि यस वर्ष भने नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरे पछि भाडा बढ्न सक्ने जनाएका छन् ।