प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । आज सुनुवाइको चौथो दिन पनि निवेदन पक्षका कानून व्यवसायीले बहस गर्ने भएका छन् ।
संवैधानिक इजलासले सुरुआति बहसका लागि निवेदक पक्षलाई १२ घण्टा दिएको छ। अब निवेदक पक्षको दुई घण्टा बाँकी छ । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
आज निवेदक पक्षको बहस सकिएपछि सरकारी पक्षका कानून व्यवसायीले बहस गर्न सक्नेछन् । महान्यायाधिवक्ता कार्यालयका कानून व्यवसायी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निजी कानून व्यवसायीले बहस गर्नेछन् ।
गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन् । त्यसका विरुद्ध देउवासहित एक सय ४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० रिट दायर भएका छन् । जसमध्ये २६ रिटमा प्रतिनिधिसभा पुनस्र्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । त्यस्तै, चार रिटमा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।