सत्तारुढ नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिइएको कमिटी भंग गरि साविकको केन्द्रीय कमिटीमा फर्कने एमालेको तयारी छ ।
एमालेका नेता विष्णु रिजालले पार्टीमा महाधिवेशन आयोजक कमिटी संरचना नरहने बताएका हुन् ।
सामाजिक सञ्जाल मार्फत नेता रिजालले असार १६ गते बस्ने आयोजक कमिटी बैठकले मौजुदा संरचना खारेज गरी साविकको केन्द्रीय कमिटीमा फर्कने जानकारी दिए ।
उनले ट्विटरमा लेखेका छन्, “अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।”
यसअघि सर्वोच्च अदालतले पनि एमालेको महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका काम कारबाहीलाई मान्यता दिन इन्कार गरेको थियो ।