logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस र जसपा मौन भए पछि सुदूरपश्चिम सरकारको बजेट पारित


अंकुरण खबर
1.378K
Shares

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमति भए पनि पछिल्लो समय कांग्रेस र जसपाका सांसदहरु मौन भए पछि प्रदेश सरकारको बजेट पारित भएको हो । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थिए ।

बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल बनेका छन् ।

सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए । सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताउँदै ‘विचौलिया राखेर बजेट ल्याइएको भन्ने विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए।

उनले कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना रोक्का र खारेज गर्न आफु प्रतिबद्ध रहेको बताउँदै अहिलेको बजेट कानूनी आधार तय गरेर आएको बताए । शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बजेट बाँडफाँटमा विभेद भएको भन्ने आरोपमा समेत कुनै सत्यता नरहेको उनको तर्क थियो । योजना बाँडफाँटमा विभेद भयो भन्ने कुराहरु उठेका भए पनि त्यस्तो खालको कुनै विभेद नभएको उनेले स्पष्ट पारे। पछाडि परेका वा पारिएका क्षेत्रलाई प्राथमिकता दिएरसरकारले बजेट वितरण गरेको उनको तर्क थियो ।

त्यस्तै गरि सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गगरेको छ । ‘आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ भने सर्व सम्मत पारित भएको हो ।

विधेयक पारित गर्न सभामुखले निर्माणार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा मौन बसेका थिए । सुदूरपश्चिम प्रदेशमा २५ एमालेका १३ माओवादीका १२ काँग्रेसका र २ जसपाका सांसद छन् ।