भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चलाउन पाइने भएको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि २५ सिट माथिका बस चलाउन पाइने निर्णय गरेको हो ।
जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । बैठकमा उपत्यकामा चल्ने बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको उनको भनाइ छ ।
सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखिरहेका थिए ।
यस्तै, एक हप्ता थपिएको निषेधाज्ञा अवधिमा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खुल्न दिने निर्णय भएको छ । अन्य पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ ।