प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले संसदमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै सोमबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो ।
मन्त्री गुरुङले आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद मोहन खड्कालाई अमयार्दित तरिकाले ‘तपाई भिजन भएको नेता होइन’ भनेका थिए ।
उनले संसदमा तीन वर्षसम्म आफ्नो योजनाहरु के भए भनेर नहेरेको भन्दै सांसद खड्कालाई सदन मै भिजन नभएको व्यक्ति भन्दै, योजनाका लागि तपाईंले सचिवसँग, मसँग, मुख्यमन्त्रीसँग समन्वय गर्नु पर्दैन भन्दै भनसुन र भेटघाट नगरेकै कारण बजेट नदिएको आशय प्रष्ट हुनेगरी भनाइ राखेका थिए ।
माओवादी केन्द्रले मन्त्रीले आत्माआलोचनासहित माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसदको अभिलेखालयबाट हटाउन माग गरेको छ ।
माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार १५ गते मंगलंबारसम्म स्थगित गरेका हुन् ।