सरकारले काठमाडौं लगायतका सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री वितरण भएको सूचना प्राप्त भएकाले सतर्क हुन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ । सरकारले कोरोनाको खोपको निःशुल्क वितरण गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले नागरिकलाई ठगी हुनबाट जोगिन अपिल गरेको हो ।
यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि आज विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ । केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण भएको सूचना आएकाले यस्तो कार्यबाट सतर्क हुन आग्रह गरिएको हो ।