प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षको आजको सुनुवाइ सकिएको छ ।
सोमबार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका हुन्।
इजलासमा दिइएको जानकारी अनुसार मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको सर्वोच्च स्रोतले जनाएको छ ।
इजलासको आजको बहसमा भाग लिदै महान्यायधिवक्ता बडालले धारा ७६ (५) मा दलीय निर्देश व्हिप लाग्ने दाबी गरे । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादव समेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर बडालले गरे ।
‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ इजलासमा उनले भने, ‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’
धारा ७६ (५) को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने र त्यसमा न्यायालयले हात हाल्न नमिल्ने बडालले तर्क गरे ।