सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।
लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु भएपछि परीक्षामा उत्तीर्ण हुने दर बढ्ने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले जानकारी दिए । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०–६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । सूचना अधिकारी भुसालका अनुसार सानो र ठूला दुवै सवारीका लागि ५–५ सय प्रश्न विभागको वेबसाइटमा राखिसकिएको छ । उनका अनुसार तीनै प्रश्नबाट २०–२० वटा प्रश्न आउनेछन् । प्रत्येक प्रश्न ५ नम्बरको हुनेछ ।
जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन ।