logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक निवेदन दर्ता


अंकुरण खबर
767
Shares

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले पटकपटक संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा नै भङ्ग भएको र संसदीय सुनुवाई नै हुन नसक्ने अवस्थामा संवैधानिक नियुक्ति सिफारिस गर्नु संविधान विपरीतको कार्य भएको भन्दै नियुक्ति नगर्न माग गर्दै त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष, संवैधानिक परिषद्, प्रतिनिधिसभाका सभामुख आदिलाई विपक्षी बनाई माघ २१ गते रिट निवेदन दर्ता गराएका थिए । माघ २३ गतेको पेसीमा सुनुवाई भई प्रत्यार्थी झिकाउने निर्णय भएको थियो ।

तर उक्त रिट निवेदन सर्वोच्चमा विचाराधीन अवस्थामै रहँदा सरकारले गएको वैशाख २६ गते फेरि विभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तर प्रतिनिसभा नै विघटन भएको अवस्थामा फेरि पनि नियुक्ति सिफारिस भएकाहरुको संसदीय सुनुवाई हुन नसकेको र ४५ दिनको कानुनी छिद्रता प्रयोग गरी संवैधानिक नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध उनी पूरक निवेदन लिएर अदालत पुगेका हुन् ।

रिट निवेदनमा अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयबाट नियुक्ति गरिएका संवैधानिक नियुक्ति पाएकाहरुलाई काम गर्न नदिन नगराउन अन्तरिम आदेशको समेत माग गरेका छन् ।

त्रिपाठीको यसअघिको निवेदन संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको छ ।